ट्रिएनालेमा मिथिला रौनक


काठमाडौं, १८ चैत
तारागाउँ म्यूजियम बौद्ध, नेपाल आर्ट काउन्सिल बबरमहल र पाटन म्यूजियममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मैथिली कलाकार एससी सुमनका कला प्रदर्शनीमा राखिएको छ । ‘काठमाडौं ट्रिएनाले’ मिथिला कलामार्फत शहरको यथार्थतालाई सुमनले अभिव्यक्त गरेका छन् ।
चैत ११ बाट जारी १७ दिने ट्रिएनालेमा सुमनले मिथिला लोकशैलीमा शहरलाई उधिनेका छन् । नेपालको लिच्छवीकालीन तथा मल्लकालीन वास्तु संरचनालाई मिथिला शैलीमा उतारेर सुमनले सामाजिक परिवेशलाई कलामा चित्रण गरेका हुन् । मानव जातिले निर्माण गरेको मौलिकतालाई कसरी आधुनिकीकरणका नाममा विध्वंश पारेको छ भन्ने भाव उनका मिथिला चित्रमा देख्न सकिन्छ ।

त्यस्तै उनले मैथिली संस्कृतिलाई समसामयिक सन्दर्भसँग जोडेर प्रतिस्थापन कला प्रस्तुत गरेका छन् । जसमा उनले संरक्षणको अवधारणालाई अघि सार्दै ‘झाँप’ लाई प्रतिस्थापन गर्दै त्यसमा शहरका कथा–व्यथालाई उनेका छन् । ‘हाम्रो मौलिकतालाई संरक्षण गर्नुपर्दछ । जसरी ‘झाँप’ लाई संरक्षणको रुपमा मिथिलामा प्रयोग गरिन्छ त्यसरी नै शहरलाई हामीले मौलिक रुपमै संरक्षण गर्नुपर्दछ,’ सुमनले भने ।

उनी भन्छन्, ‘झाँप’ आराधना कलाकृतिको एक अनुपम नमूना हो । देवीदेवतालाई सामान्यतय पुष्प, मिष्ठान र नैवैद्यले आराधना गरिन्छ । मधेसको मिथिला संस्कृतिमा बाँसका सिन्काको संरचना ‘कोढिल’ (पानीमा पाइने एकप्रकारको वनस्पति) को साहराले त्यसलाई सेतो कागजले बेरेर स–साना ‘पिहुआ’ (कूचि) बाट रंगीन कलाकृति बनाइ देवतालाई चढाइन्छ । यसलाई ‘झाँप’ भनिन्छ । सधारणतया मैथिली लोक भाषामा झाप्नु भनेको छोप्नु हो । अर्थात् संरक्षण गर्नु हो । देख्दा कुनै वस्तुलाई छोप्न प्रयोग गरिने जस्तो देखिने हुँदा यसलाई ‘झाँप’ भनिएको हुनुपर्छ ।’

झाँप कुल देवता र ग्राम देवताका थानमा चढाइने चलन छ । खासगरी दशैंको पुजा घरमा, कृष्णाष्टमी, सिरूवा, घडी पर्व, यस्तै पर्वहरू तथा भाकलको रूपमा झाँप चढाइन्छ । भाँपसँगै उनले हात्तीका माटाका मूर्तिलाई समेत कलात्मक रुपमा समसामयिक रुपमा प्रस्तुत गरेका छन् ।

यो परम्परा शताब्दीऔंदेखि चलिआएको छ । उहिले उहिले झाँप बनाउने महिला पुरूषहरू बडो सिपालु हुन्थे । हाल यसमा नयाँ पुस्ताको त्यतिसारो चासो र रूचि नदेखिएको सुमनले सुनाए । उनी भन्छन्, ‘यस आराधना विधिबाट मिथिला संस्कृतिमा मौलिक रंगकर्मको विकास हुँदै आएको हो । मिथिला चित्र वा मधुवनी आर्टको यो झाँप जननी पनि हो ।’

-देवेन्द्र थुम्केली-


ट्रिएनालेमा मिथिला रौनक