मिथिला क्यानभासका नायक


मैथिल चित्रकला प्रदर्शनभन्दा तिनले दिने सन्देश ठूलो कुरा हो। सुमन त्यही गरिरहेका छन्।
नवीन झा
उनका लागि सबैभन्दा प्रिय र मूल्यवान् सम्पत्ति भनेका कुची र क्यानभास हुन् त्यो पनि गाउँमै बनेका। यिनै चिजले आज उनलाई सुबोधचन्द्र दासबाट एससी सुमन बनाइदिएको छ।
५० वर्षअघि सिरहा, भवानीपुरको मैथिल परिवारमा सुबोधचन्द्रलाई जन्म दिने बाबुआमा छोरा डाक्टर बनोस् भन्ने चाहन्थे, तर उनले चित्रकलामा रमाएकी हजुरआमाको सिको गर्दै कुची समाए। यसरी आमाबुबाको इच्छा पूरा गर्न नसकेका उनी आज देशभित्र मात्रै होइन, विदेशमा समेत सुविख्यात मैथिल चित्रकारको रूपमा उभिन सफल भएका छन्। सन् १९९१ देखि व्यावसायिक यात्रा थालेका सुमनले भारत, जापान, अष्ट्रेलिया, फ्रान्स, जर्मनीलगायतका देशमा मैथिल कलाको एकल प्रदर्शनी गरिसकेका छन्।

मैथिल चित्रकला प्रदर्शनभन्दा तिनले दिने सन्देश ठूलो कुरा हो। सुमन त्यही गरिरहेका छन्। यी सर्जकले मिथिलाको समाजदेखि राजनीतिसम्मलाई चित्रमा उतारेका छन्। गएको फागुन अन्तिम साता काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा रु.१७ हजारदेखि रु.८० हजारसम्मका ६५ वटा चित्र राखेर एघारौं एकल प्रदर्शनी गरेका सुमन भन्छन्, “कलाले समाजलाई जोड्ने काम गर्छ, राजनीति पनि समाज र मुलुक तोड्न होइन, जोड्नकै लागि गरिन्छ।”
सुमन ७ कक्षामा पढ्दा एकजना मन्त्री आउँदै थिए, उनको विद्यालयमा। विद्यालयले चित्रकला प्रतियोगिता गरेर उत्कृष्ट हुनेलाई मन्त्रीबाट पुरस्कार दिने घोषणा गरेको थियो। मौका त मिल्यो तर, चित्रकला महिलाले घरका भित्तामा गर्ने काम हो भन्ने बुबाको खप्की खानुपर्ला भन्ने डर पनि सँगै थियो। तैपनि उनले लुकीलुकी एउटा चित्र बनाए। उनको जीवनको पहिलो वाजी त्यही चित्रले मार्‍यो। यसरी मन्त्रीको हातबाट पहिलो पटक कलम, मसी र किताब पुरस्कार थापेका सुमनले त्यो खबर घरमा नपुगिदे’स् भन्ने चाहेका थिए, तर उनका एक शिक्षकले बुबालाई सुनाइदिएछन्। तर, छोरा अगाडि पर्दा बाबुले न स्याबासी दिए, न गाली गरे। त्यो क्षण सम्झ्ँदा सुमनलाई अहिले लाग्छ, “पिताजी जीवित भएको भए शायद आज मलाई स्याबास भन्नुहुन्थ्यो कि!”
स्कूले जीवनको यो मैथिल कलामोह उनले दरभङ्गा विश्वविद्यालयमा पढ्दा पनि कायमै राखे। चित्रकलाबारे नयाँ कुरा भेट्यो कि, टिपिहाल्थे। एकपटक उनले दरभङ्गा रेल्वे स्टेशनमा चना चटपटेको ठेलागाडा अगाडि एउटा झ्ुत्रो कागज देखे जसमा गजबको पेन्टिङ थियो। कसैले देखे के भन्लान् भनेर त्यसलाई नउठाई अगाडि बढेका उनी मनले नमानेर फेरि फर्के, कागज टिपे। त्यो थोत्रो पेन्टिङ आज पनि उनको साथमा छ। पढाइ सिध्याएपछि व्यावसायिक प्रयोजनका लागि पहिलो चित्र बनाउनुअघि उनले त्यही पेन्टिङ निकालेर हेरेका थिए। जीवनका थुप्रै उतारचढाव पार गरेर यहाँसम्म आइपुग्दा सुमनलाई मिथिला चित्रकलाको फैलावटले आत्मसन्तोष दिएको छ। यति हुँदाहुँदै पनि समग्र मिथिलाको क्यानभास समस्यामा जकडिएको ठान्ने सुमन भन्छन्, “एउटा राम्रो चित्रकारले सबभन्दा पहिला जागिरको परिबन्धबाट मुक्त हुनुपर्छ, नत्र कहिल्यै स्तरीय सिर्जनै हुँदैन।”

http://www.dalannepal.com/2013/09/blog-post_12.html